Kath khabar
यस वर्षको सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार सुप्रिम मल्ल ठकुरीलाई

 

                कास्की, माघ १२ । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने निर्णय भएको सरुभक्त केन्द्रले जनाएको छ।

कम उमेरमा नै गीतसङ्गीतको क्षेत्रमा सफलता पाएका उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पुरस्कृत हुन लागेका बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म एक सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन् । उनी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप  भएका थिए।

बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौँको महर्षी स्कुलमा कक्षा छ मा अध्ययनरत ठकुरीलाई यही माघ २७ गते पोखरामा एक समारोहका बीच पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।  आफ्नो प्रतिभामार्फत देशको इज्जत र प्रतिष्ठा कायम गर्न सफल बालप्रतिभालाई केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ थियो ।

बाह्र वर्षीय ठकुरी यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’ लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउनीसफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समितिका संयोजक सरस्वती प्रतिक्षाले बताए।

यसअघि उक्त पुरस्कारबाट विसं २०५७ मा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, विसं २०५८ मा नृत्यमा ज्योति थापा, विसं २०६० मा गायनतर्फ ऋतु लामा, कलामा विसं २०६१ म शिखा कटुवाल, विसं २०६२ मा कला क्षेत्रमा करुणा गुरुङ, विसं २०६४ मा खेलकुदतर्फ सिपोरा गुरुङ, विसं २०६५ मा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र विसं २०६९ मा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई प्रदान गरिएको थियो ।

विसं २०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’का नाममा वितरण गर्न लागिएको केन्द्रले जनाएको छ । साहित्यकार एवं सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा रु ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update