Kath khabar
आज विश्व क्यान्सर दिवस मनाइँदै

 

                  काठमाडौं, माघ २१ । आज विश्व क्यान्सर (अर्बुद रोग)  दिवस । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका हुन् । त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको सङ्ख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ ।

नेपालमा वर्षेनी १५ हजारको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको तत्थ्याङ्क छ । सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update