Kath khabar
क्यानडाविरुद्ध जितका लागि नेपाललाई २३३ रनको लक्ष्य

 

                    काठमाडौं, माघ २९ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

क्यानडाका लागि नवनित दलिवालले ५० रनको अर्धशतक प्रहार गरे । ८२ बलको सामना गरेका उनी ललित राजवंशीको बलमा आउट भए ।  त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए।

क्यानडाका निखिल दत्ताले ४५ रन बनाए । ६२ बलको सामना गर्दा २ चौका र एउटा छक्का प्रहार गरेका निखिल रनआउट हुँदै पेभेलियन फर्किए । निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे । दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए ।

बलिङमा नेपालका डेब्यु गरेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । नेपालका लागि कुशल मल्लले २ विकेट, ललित राजवंशी र आकाश चन्दले समान १–१ विकेट लिए ।

आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update