Kath khabar
माल्दिभ्सविरुद्ध नेपालको शानदार जित

 

                   काठमाडौं, फागुन १ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकालेको छ ।

समुहचरण अन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।

रुविनाको शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । उनले माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । नेपालको यो महिला टी-२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल पनि हो ।

यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । यस्तै पूजा महतो र रुबिना श्रेत्रीले तीन तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुई दुई रन बनाए ।
 
लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई आठ आठ विकेटले पराजित गरेको थियो  ।

लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update