Kath khabar
सात दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरको आग्रह

 

                     काठमाडौं, फागुन ९ । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा स्थित ललिता निवास क्षेत्रबाट आफै हट्न आग्रह गर्दै एक सूचना जारी गरेको छ ।

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सात दिनभित्र उक्त क्षेत्रबाट हट्न अनुरोध गरेको हो ।

‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ ।’ सूचना प्रकाशन गर्नु पर्ने कारण जनाउँदै भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ ।

विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरले बताएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update