Kath khabar
साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा

 

                      काठमाडौं, फागुन ११ । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकविरुद्ध प्रभावशाली जित हासिल गर्यो । यो जित नेपालकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलमा सम्भव भएको हो ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा गए राति भएको खेलमा नेपालले इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको हो। इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी सावित्राले नेपाललाई शानदार जित दिलाउनका एक्लैले ५ गोल गरेकी हुन् ।

योसँगै नेपाल एक खेल अगावै वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इराक विरुद्ध पाँचै गोल सावित्रा भण्डारीले गरेकी हुन् । उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् । खेलको १४औं मिनेटमा सावित्राको गोलमार्फत नेपालले अग्रता लिएको थियो । दुई मिनेटपछि नै सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । सो खेलमा समेत सावित्राले एक गोल गरेकी थिइन् ।  समूह विजेताका लागि नेपाल र प्यालेस्टाइनबीच शनिबार हुने खेल हुनेछ ।

योसँगै ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी उनले लामो यात्रापछि यो आँकडा भेटेकी हुन् । त्यसबीचमा उनलाई गम्भीर चोट लागेपछि टोलीबाहिर रहिन् । तर उनले खेलमा पुनरागमन गर्दै गोल गर्ने क्रममा ब्रेक लाग्न दिइनन् ।

उनले आफूले खेलेको २५ खेलमा गोल गरेकी छिन् । सावित्राले गोल गरेको ४ खेलमा मात्र नेपालले हार बेहोरेको छ । उनले गोल गरेको १७ खेलमा नेपालले जित दर्ता गर्दा ४ खेल बराबरीमा सकिएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update