Kath khabar
धीरज मगर र साम्राज्ञी शाह अभिनित ‘रुमानी रङ्ग’ बन्ने


                      काठमाडौं, फागुन ११ । अनिल योञ्जनको निर्देशनमा नेपाली चलचित्र ‘रुमानी रङ्ग’ बन्ने भएको छ । बिहीबार कमलपोखरीस्थित चलचित्र भवनमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो ।
 
यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत हुँदा झैँ यसपटक काम गर्न आफूहरू उत्साहित रहेको अभिनेता मगरले बताउनुभयो । “मलाई यो चलचित्रको कथाले आकर्षित गरेको हो । मैले आफूलाई प्रस्तुत गर्न चाहिरहेको भूमिका यसमा छ। यो प्रेमकथामा आधारित रोमान्टिक कमेडी चलचित्र हो”, उहाँले भन्नुभयो । चलचित्र अष्ट्रेलियामा छायाङ्कन हुने जानकारी दिनुहुँदै आफू तयारीमा जुटेको उहाँले बताउनुभयो ।

 कथाको तारिफ गर्दै अभिनेत्री शाहले आफू सधैँ फरक भूमिकामा प्रस्तुत हुन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो। “मैले अघिल्ला चलचित्रमा पनि फरक भूमिका गर्ने कोसिस गरेकी थिएँ । केही सफलता र केही असफलतामार्फत प्राप्त सिकाइकै कारण अहिले सन्तुलित रुपमा काम  गरिरहेकी छु” । निर्देशकले कथा सुनाउने शैली र प्रस्तुतिकरणका विषयमा गरेको तयारी र अभिनेता मगर चलचित्रमा रहेकाले पनि आफूलाई राम्रो बन्नेमा विश्वस्त हुने आधार पुगेको शाहले  बताउनुभयो ।

चलचित्र  ‘डायरी’ मार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानक चलचित्रको तयारी गर्नुभएको छ । “अहिले हाम्रो प्रेम कथानक चलचित्र परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु” उहाँले भन्नुभयो । चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update