Kath khabar

काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताउनुभएको छ ।

    द सनसाइन स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुहुँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

    समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उहाँको भनाइ छ । त्यस्तै शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रुपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रुपमा बुझ्नुपर्नेमा उहाँको जोड थियो । संविधानमा प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । 

    “नैतिक शिक्षा र सिर्जनात्मक कार्यले योग्य जनशक्ति निर्माणमा सहयोग गर्छ । शिक्षा क्षेत्रबाटै समाज रुपान्तरण सम्भव छ । गुणस्तरीय, सीपमूलक र नैतिक शिक्षाका लागि पाठ्यक्रम, विद्यालय र कक्षाकोठा मात्र नभई अविभावक पनि जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो । पुर्खाको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन नहुने उहाँको भनाइ थियो । 
     
    सो अवसरमा विद्यालयले संस्कृतिविद् डा जगमान गुरुङलाई सम्मान गरेको छ । साथै, विद्यालयले विज्ञान र कला प्रदर्शनी तथा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले वार्षिक कार्यविवरण र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update