Kath khabar
आजदेखि आगामी चैत ७ गतेसम्म दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुँदै

 

                         काठमाडौं, फागुन १३ ।  सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका  गरी कूल ५७ लाख ४२ हजार ९९३  बालबालिकालाई खोप लगाइने छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ । उहाँले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ-आफ्नो बालबालिकालाई खोप लगाउन भन्दै उहाँले खोपले ८५ प्रतिशतलाई दादुरा रुवेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताउनुभयो ।
 
उहाँले  खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएको जिल्लास्तरमा आकस्मिक उपचारको टोली गठन गरिएको बताउनुभयो ।

सात रोगविरुद्धको खोप पनि
खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाको भनाइ रहेको छ । खोप अभियानमा सात वटा रोगविरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । खोप शाखाका प्रमुख डा गौतमले हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताउनुभयो । ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उहाँले बताउनुभयो ।

सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यका यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न थालेको हो । (रासस)

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update