Kath khabar
मुस्लिम समुदायका मानिसहरूले किन मनाउँछन् ‘सब–ए–बारात’ ?


                     काठमाडौं, फागुन १३ । मुस्लिम समुदायका लागि महत्वपूर्ण मानिने पर्व सब-ए-बारात नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले शनिबार मनाएका छन् ।

इस्लाम धर्मावलम्बीले यस दिन आफ्ना दिवंगत पुर्खाको सम्झनामा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने प्रचलन छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् ।

इस्लामिक क्यालेन्डरका अनुसार यो रात वर्षको एक पटक शाबान महिनाको १४ गते सूर्यास्तपछि सुरु हुन्छ । रजब महिना पछि शाबान आउँछ । इस्लामिक क्यालेन्डर अनुसार, फेब्रुअरी १२ मा शाबान महिनाको शुरुवात भएको हो । यसैअनुसार सब-ए-बारात फेब्रुअरी २४ तारिख (शनिबार) मनाइएको हो ।

सबको अर्थ रात र बरातको अर्थ मुक्ति हो । यसको अर्थ रातमा अपराधबाट मुक्ति पाउनु हो ।  यस दिन मुस्लिम धर्मावलम्बीहरू व्रत बस्छन् । रातभरी जाग्राम बसेर नमाज पढ्ने अनि इवाद्धत गर्ने गर्छन् ।

सब-ए-बारात मुस्लिम समुदायका लागि महत्वपूर्ण पर्व मानिन्छ । सब-ए-बारात पापहरूको क्षमा माग्ने रात हो, जसमा प्रत्येक मुस्लिमले रातभर जाग्राम बस्छन्,  नमाज पढ्छन् र आफ्ना पापहरूको क्षमा माग्छन् । मुस्लिमहरूका लागि यो रात ठूलो महिमाको रात मानिन्छ । सब-ए-बारातको रात मृतकहरूको शान्तिको लागि प्रार्थना गरिन्छ । यस रातमा साँचो मनले पूजा गरे अल्लाहले सबै पापहरू क्षमा गर्नुहुन्छ भन्ने विश्वास छ ।

यसदिन मानिसहरूले पनि आफ्नो क्षमता अनुसार दान गर्छन् । घरमा मिठा परिकार पनि बनाइन्छ । त्यसदिन पितृहरुलाई विशेष परिकारका रुपमा तयार गरिएको ‘सुबेरात हलुवा’ बनाएर चढाइन्छ र दिनदुःखीहरुलाई घरमै बोलाएर खुवाइन्छ । 

गरीब, विपन्न र असहायलाई दानदक्षिणा दिने र भोजन गराइन्छ । घरमा माग्न आएका दिनुदुखीहरुलाई यदि घरमा पढ्ने मान्छे नभएको खण्डमा नमाज पढ्न पनि पठाइन्छ ।  यति गर्दा पितृहरु पनि खुसी हुने विश्वास रहेको सकिना खातुनले बताउनुभयो ।

यस रात कुनै पनि आवाज, आतिशबाजी गर्न अनुपयुक्त मानिन्छ । कसैको पनि घरमा टेलिभिजन हेर्ने वा कुनै अन्य मनोरञ्जनका क्रियाकलापहरु नगरी शान्त वातावरणमा यो पर्व मनाइन्छ। यसदिन १२ वर्षदेखि माथिका बालबालिकाहरु तथा रजस्वला सुरु भइसकेका हरेक बालिकाहरुलाई पनि यो व्रत अनिवार्य रुपमा बस्नुपर्छ ।

यो पर्वको सुरुको दिन हरेक घरघरमा सरसफाई गरिन्छ । सफा गर्दा घरका कुनै पनि कुनाकाप्चा छोडिनु हुँदैन ।भान्छामा रहेक हरेका भाडाकुडा यो दिन सफा गरेर चोखो बनाउनुपर्दछ । यो रातमा भाग्यको परिवर्तन हुने जनविश्वास पनि छ । अपराध गरेर नर्कमा बस्नेलाई यो रातमा पाप क्षमा गरी नर्कबाट स्वर्गमा पठाइने विश्वास छ । मुस्लिम समुदायमा यो पर्व सकिएको १५ दिनपछि एक महिने रोजा रमजान सुरु हुन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update