Kath khabar
मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक,  फागुन १३ । मेलम्ची नगरपालिकाले वडा नं ११  बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो । 

    पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिनुभयो । गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो । 

    मेलम्ची बजारमा एक सय भन्दाबढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । 

    नगरको आग्रहमा केहिले आफैँ हटाएका भन्दै बाँकी रहेका घरमा डोजर लगाइएको मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो ।

    बजारलाई व्यवस्थित बनाउनका लागि मेलम्ची–११ का वडध्यक्ष तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो । उक्त सूचनाको म्याद नसकिँदै अधिकांश स्थानीय तथा व्यापारीले स्वतःस्फूर्त रूपमा अतिक्रमित अस्थायी संरचना हटाएका थिए ।

    सूचनाको बेवास्ता गरी नहटाइएका एक दर्जनबढी संरचनामाथि नगरपालिकाले डोजर चलाएको इञ्जिनियर कार्कीले बताउनुभयो । उहाँका अनुसार पालिकाले बजार व्यवस्थापनका लागि सञ्चालन गरेको अभियानप्रति यहाँका व्यवसायीले पूर्णसाथ दिएका छन् । 

    अभियानमा मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, ९ का वडाध्यक्ष किरणदिप खडका, स्थानीयलगायतको सहभागिता थियो । मेलम्ची बजार क्षेत्रको मात्र नभइ तालामाराङ, बाहुनेपाटी, दुवाचौर, भोटेचौरलगायत क्षेत्रको पनि उचित व्यवस्थापन हुनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताउनुभयो ।

    नगरपालिकाको उक्त अभियानमा नगर उद्योग वाणिज्य सङ्घले पूर्ण समर्थन जनाएको सङ्घका महासचिव ताराबहादुर बानियाँले जानकारी दिनुभयो । संरचना भत्काउने मात्रै नभइ उचित व्यवस्थापन समेत गर्नुपर्ने उहाँको माग छ । 

    अतिक्रमित संरचना हटाउँदा सडक फराकिलो हुनुका साथै बजार सुन्दर देखिएको स्थानीयले बताएका छन् । मेलम्ची क्षेत्रमा पार्किङको समस्या रहेको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्ने स्थानीय विष्णुप्रसाद दुलालले बताउनुभयो ।

    यसैबीच, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाबीच भगिनीसम्बन्ध स्थापना भएको छ । बनेपामा आयोजित कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै भगिनीसम्बन्ध सुरुवात गरिएको हो । 

    उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पाँचपोखरिको विकासका लागि सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । पर्यटनको विकास तथा प्रवर्द्धन, अर्गानिक आलु तथा तरकारीको बजार व्यवस्थापनलगायत क्षेत्रमा नगरपालिकाको सधैँ सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

    शाक्यले पाँचपोखरीमा आँखा अस्पताल सञ्चालन गर्ने  विषय सकारात्मक रहेको भन्दै दुवै पालिकाको हितका लागि सम्बन्ध स्थापना गरेको प्रष्ट पार्नुभयो ।

    पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले गाउँपालिकालाई समृद्ध बनाउन यो सम्बन्ध उपलब्धिमुलक रहने बताउनुभयो । काठमाडौँसँग जोडिएको जिल्ला भएर पनि पछि पाँचपोखरीलाई विकसित र समृद्ध बनाउनका लागि भगिनीसम्बन्ध स्थापना गरिएको उहाँको भनाइ छ ।

    अध्यक्ष लामाले यो ऐतिहासिक निर्णय गाउँपालिकाको इतिहासमा लेखिएको बताउनुभयो । उहाँले आगामी दिनमा साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले यो मैत्रीपूर्ण भ्रमणले धेरै कुराको सिकाएको बताउनुभयो ।

    कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरपालिकामा भइरहेका मुख्यमुख्य कामका बारेमा जानकारी गराउनुभएको थियो । 

    त्यस्तै, नगर उपप्रमुख विमला सापकोटाले दुई पालिकाका जनताबीच आपसी सहयोग तथा गहिरो भ्रातृत्वसम्बन्ध र समझदारीलाई प्रवद्र्धन एवं सम्बद्र्धन गर्ने उद्देश्यले भगिनीसम्बन्ध स्थापना गरिएको बताउनुभयो ।

    आज भएको सम्झौतामा, “दुई पालिकाबीचको सम्बन्ध, आपसी हितका सिद्धान्तअनुरूप दुई पालिकाका जनताबीच आर्थिक, व्यपारिक, सांस्कृतिक, प्राविधिक, पर्यावरणा संरक्षण, प्राकृतिक स्रोतको उपयोग र पर्यटन प्रवद्र्धनको क्षेत्रमा संयुक्त रूपमा मैत्रीपूर्ण आदानप्रदान र सहयोग गर्न स्वीकार गर्दछौँ”, भनिएको छ ।

    सम्झौताको भावनालाई कार्यान्वयन गर्न आगामी दिनमा दुई पालिकाबीच विषयगत क्षेत्रका विशेष सम्झौतामार्फत अगाडि बढ्ने, सम्झौता कार्यान्वयनका क्रममा कुनै द्विविधा उपस्थित भएमा आपसी सहमतिमा समाधान गर्नेलगायत कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । दुईवटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले हस्ताक्षर गर्नुभएको सम्झौतापत्र आजैदेखि लागू भएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update