Kath khabar

दमौली (तनहुँ), फागुन १३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले बनाएका चित्र आँबुखैरेनी महोत्सवमा राखिएका छन् । बिहीबारदेखि सुरु भएको दोस्रो आँबुखैरेनी महोत्सवमा राखिएका चित्रले महोत्सवमा आकर्षण थपेको छ । 

    ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीले चित्रकला सीप सिकेर आफूले बनाएका विभिन्न किसिमका चित्र प्रदर्शनीमा राखेका छन् । महोत्सव आयोजकले विद्यार्थीका लागि एउटा स्टल निःशुल्क उपलब्ध गराएको छ । 

    विद्यार्थीले सिकेका सीप सर्वसाधारणलाई प्रदर्शन गर्न र चित्रहरु बिक्रीका लागि महोत्सव उपयुक्त स्थान बन्न सक्ने विश्वास गरिएको चित्रकला प्रशिक्षक पवन नेपालीले राससलाई जानकारी दिनुभयो । “महोत्सवमा आउने सर्वसाधारणले विद्यार्थीले बनाएका चित्र मन पराउनुभएको छ”, उहाँले भन्नुभयो, “चित्रहरुको माग पनि आइरहेको छ । मन परेका चित्र बिक्रीको व्यवस्था मिलाएका छौँ ।”

    पहिलो चरणमा बनाएका चित्रहरु विद्यालयमा राखिने र माग आएका चित्र विद्यार्थीले पुनः बनाएर बिक्री गर्ने तयारी गरिएको नेपालीले जानकारी दिनुभयो । चित्रकलाको सीप सिकाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ । 

    विद्यार्थी मनिषा भुजेलले सीप सिकेपछि चित्र बनाएर बिक्री गर्न सक्ने भएको बताउनुभयो । आफैँले बुनेका बाँसको नाङ्लोमा चित्र बनाउनुभएकी उहाँले पहिलो प्रयासमा नै राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोर्नुभएको छ । भविष्यमा चित्रकलालाई निरन्तरता दिने भन्दै चित्र बिक्री गरी पढाइखर्च व्यवस्थापन गर्ने सोच बनाएको उहाँको भनाइ छ ।

    विद्यार्थी अम्बिका भुजेलले पहिलो महिनाबारीको अवस्थालाई चित्रमार्फत् चित्रण गर्नुभएको छ । महिनाबारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोही अनुसारको चित्र कोरेको उहाँले बताउनुभयो । 

    विद्यार्थी दीपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत् उतार्नुभएको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत् प्रवर्द्धन गर्नुपर्ने भन्दै उहाँले यहाँका पर्यटकीयस्थललाई कागजमा उतारेको उहाँले बताउनुभयो । 

    विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तर रुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर अघि बढाइएको उहाँको भनाइ छ । अध्यक्ष चुमानका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत् विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको हो । 

    विद्यार्थीले बनाएका चित्रको प्रदर्शन गर्दै उनीहरुको प्रतिभालाई सम्मान गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मूलसमारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनीका सभापति भगवान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिकस्थलको अवलोकन, कृषि तथा पशु फार्म, उद्योग तथा विद्युत् उत्पादन केन्द्रको अध्ययन अवलोकन आकर्षणको रुपमा रहेका छन् । 

    महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्मको दुई दिने प्याकेज भ्रमणको व्यवस्था रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा विभिन्न जातजातिको संस्कृति, भेषभूषा, खानपानको प्रर्दशनीसँगै विविध लोक सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता हुनेछ ।

    महोत्सवमार्फत यहाँ रहेका ऐतिहासिक सम्पदा र पर्यटकीयस्थल छिम्केश्वरी, आँधीमूल र मस्र्याङ्दी जलाशयमा जलक्रिडा, ऐनापहरालगायतको प्रचारप्रसार गरी आर्थिक उन्नतिमा टेवा पुर्‍याउने लक्ष्य लिइएको श्रेष्ठले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update