Kath khabar
टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित

 

                  काठमाडौं, फागुन १५ । त्रिकोणात्मक टि-२०आई सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको छ । 

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भएको हो । नामिबियाले २०७ रनको विजय लक्ष्य दिए पनि नेपाल ७ बल अगावै १८६ रन बनाएर अलआउट भयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मल्लले ३२ रन बनाए । त्यस्तै गुलशन झाले १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समानले छ/छ रन जोडे । सन्दीप जोराले  पाँच रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोलज, निकोल लोपफटी इटन र जान फ्रिलिङकले समान दुई/दुई विकेट लिए । नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए ।  

इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यसैगरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक/एक विकेट लिए ।

यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update