Kath khabar
वाफ च्याम्पियनसिपको‌ फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने

 

                         काठमाडौं,  फागुन १७ । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । साउदीको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ ।

नेपाली टोलीका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले भने फाइनल खेल्ने छैनन् । साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइनल खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

नेपाली महिला फुटबल टिम
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड : चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।  

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update