Kath khabar
टोलीको गोलमा खुसी मनाउन आतुर छु - स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’

 

                     काठमाडौं, फागुन १७ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आजको प्रतियोगितामा आफू खेलाडीको रुपमा मैदानमा उपस्थित हुन नसकेपनि मैदान बाहिरबाट देशको समर्थन गर्न आफू आतुर रहेको बताएकी छिन् ।

बिहीबार राति खेलिने जोर्डनविरुद्धको फाइनल खेलमा पनि आफ्नो टोलीले उपाधि घर लिएर जाने विश्वास रहेको उनले बताएकी छिन् । जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु उनले लेखेकी छिन् ।

साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राती ९ः४५ बजेदेखि सुरु हुनेछ ।

२० वर्षको उमेरमा उनी दक्षिण एसियाकै उत्कृष्ट महिला स्ट्राइकरका रूपमा चिनिन्छिन् । क्लब स्तरमा, भण्डारीले एपीएफ क्लबको प्रतिनिधित्व गर्छिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै भण्डारीले विभिन्न प्रतियोगितामा भाग लिइसकेकी छिन् ।

देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।
वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौँ, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।
मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुन: एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।
शुभकामना टिम१
हामी सक्छौं, हामी गर्छौं ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update