Kath khabar
आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा


                    काठमाडौं, फागुन १८ । आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ ।

हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गर्नुभएको छ । उहाँले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको जानकारी दिनुभयो ।

“यो हाम्रो समाजको नभनिएको कथा हो । मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ । हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो”, निर्देशक चौधरीले भन्नुभयो ।

चलचित्रमा कलाकार सौगात मल्ल र नाजिर हुसेनले निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ । उहाँहरुले चलचित्रका लागि २० किलो तौल घटाएर फेरि बढाउनुभएको थियो । टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।

“मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन । मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो । त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गरे”, अभिनेता मल्लले भन्नुभयो । चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update