Kath khabar
आज र भोलि वर्षा र हिमपातको सम्भावना

 

                             काठमाडौं, फागुन १९ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार र आईतबार देशका धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको छ ।

उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षाको साथै कोशी प्रदेशमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त मौसम प्रणालीको असरले तापक्रम समेत थोरै घट्न गई हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update