Kath khabar

काबुल, फागुन १९ । 

अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । 

बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम बर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

सर–ए–पुलका स्थानीय अब्दुल कादिरले भन्नुभयो, “व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकोले स्थानीयहरू निकै चिन्तित बनेका छन् ।” 

अर्का बासिन्दा अमानुल्लाहले विशेषगरी सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावित भएकाहरूका लागि तत्काल सरकारी सहयोगका लागि याचना गर्नुभयो । 

अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेष गरी पशुधन मालिकहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ । अधिकारीहरूले बाल्ख, जाज्जान, बडगिस, फरयाब र हेरात प्रान्तका पशुधनीहरूलाई राहत सहयोगका लागि पाँच करोड रकम बिनियोजन गरेको छ । 

कृषि, सिँचाइ तथा पशुपन्छी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो । अवरुद्ध सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकालाई उद्धार गर्न यी समितिहरू सक्रिय रूपमा लागिपरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update