Kath khabar

बाजुरा, फागुन १९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले राससलाई जानकारी दिनुभयो । 

    सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उहाँले बताउनुभयो । पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो ।

    कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताउनुभयो । समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उहाँको भनाइ छ । कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
 
    गाउँ सभाले उक्त कार्यविधिसँगै अन्य आठवटा कार्यविधि पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बताउनुभयो । हिउँदे अधिवेशनमा पेस गरिएका विषयगत समिति कार्य सञ्चालन कार्यविधि, टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिका कार्य सञ्चालन निर्देशिका र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार आचारसंहिता सभाले पारित गरेको छ । 

    खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पूर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन निरन्तर पहल गरिरहेको अध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार  चालू वर्षको हालसम्म कूल बजेटको २९.४ प्रतिशत खर्च भएको छ ।

    गाउँ सभाले नागरिकका जनजीविकाका सवालमा आधारित भई पालिकामा नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिइएको उपाध्यक्ष नाथले बताउनुभयो । पालिकामा थुप्रै नीतिनियम निर्माण गर्न बाँकी रहेका भन्दै आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर बनाइएका नीति कार्यान्वयनमा पहल गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update