Kath khabar
कायरो वार्ताको दोस्रो दिन, गाजा युद्धविरामका लागि प्रयास जारी


                   ऐरो, फागुन २२ । सत्तारुढ हमासले गाजामा युद्धविराम गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग वार्ता जारी राखेको छ।

इजिप्टका सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार "उल्लेखनीय प्रगति" भएको  थियो । नाम न छाप्ने शर्तमा सुरक्षा स्रोतले वार्तामा छलफल भइरहेको र प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० जना प्यालेस्टाइनी बन्दी बराबर बृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धकहरूको आदानप्रदानको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको बताएका छन् ।

प्रस्तावित उक्त सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर, १ लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्ने लगायतका विषय समेटेको बताइएको छ ।

इजिप्टको राज्य-समन्वित प्रसारक अल-काहेरा न्युजले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पहिलो चरणको वार्ता सोमबार टुङ्गिने बताएको छ ।  इजिप्टले यसअघि युद्धविराममा "निष्पक्ष सम्झौता" मा पुग्न कतारी र अमेरिकी पक्षहरूसँग काम गरिरहेको छ।

यता इजरायलले अहिलेसम्म कायरोमा प्रतिनिधिमण्डल पठाएको छैन। इजरायली सञ्चार माध्यमका अनुसार हमासले जीवित बन्धकहरूको सङ्ख्या यकिन नगरेसम्म र प्रत्येक बन्धकको लागि कति जना प्यालेस्टिनी कैदीहरू हस्तान्तरण गर्नुपर्ने हो सो व्यहोरा नखुलाएसम्म इजरायलले कायरोमा प्रतिनिधिमण्डल नपठाउने बताएको छ ।

यसै बीच गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार गाजा युद्ध शुरु भए यता  इजरायलको जवाफी कारबाहीमा ३० हजार ५३४ प्यालेस्टिनी मारिएका छन् र ७१ हजार ९२० जना घाइते भएका छन्।
 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update