Kath khabar
लामाटारमा पहिलोपल्ट ‘वडा अध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुँदै

         ललितपुर, २४ फागुन । महालक्ष्मी नगरपालिका वडा नं ९, वडा कार्यालयले पहिलोपल्ट काठमाण्डौ उपत्यकाव्यापी ‘वडा अध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’ आयोजना गर्ने भएको छ । 
वडा कार्यालयको सामाजिक विकास कार्यक्रम अन्तर्गतको करीव २ लाखरुपैयाँको लागतमा आउँदो चैत ९ र १० गते वडा कार्यालय हाता लामाटारमा सो प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए । 
प्रतियोगितामा पहिलोे हुनेलाई मुख्य पुरस्कार स्वरुप नगद २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ८ हजार नगद, पदक र ट्रफि दिइने आयोजकले जनाएको छ । यसै गरि पाँचौदेखि दशौं स्थानसम्म हासिल गर्नेले पनि नगद पुरस्कार पाउने छन् । 
यसैगरि महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेको साथै १८ वर्ष मुनिका विजयी खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा महालक्ष्मी नगर क्षेत्रबाट र ललितपुर जिल्लाबाट उत्कृष्ट हुने खेलाडीलाई पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्थागरिएको छ ।
प्रतियोगितामा विजयी हुने विभिन्न उमेर समुहका खेलाडीलाई दिने गरि नगद १ लाख २३ हजार नगद पुरस्कार विनियोजन गरिएको छ भने प्रतियेगिता सञ्चालन गर्न करीव २ लाख रुपैयाँ खर्च हुने वडा अध्यक्ष बोगटीले बताए । 
महिला, पुरुष र १८ वर्ष मुनि उमेर समुहका बुद्धिचालका जो कोही खेलाडीले भाग लिन पाउने सो प्रतियोगितामा महालक्ष्मी नगरका खेलाडीलाई निःशुल्क र अन्य जिल्लाका खेलाडीलाई नाम दर्ता वापत प्रति पुरुष खेलाडी ५ सय र महिला तथा १८ वर्ष मुनिका खेलाडीलाई जनही ३ सय रुपैया नाम दर्ता शुल्क तोकिएको छ । 


 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update