Kath khabar
भारत देखि जर्मनीसम्मका कलाकारले अभिनय गर्दै “यो मन त मेरो नेपाली हो”


                  काठमाडौं ,फागुन २७  । चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो  चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर चलचित्रको दोस्रो  चरणको छायांकन सुरु गरिएको हो ।

चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकनमा भारत ,मलेसिया ,पोल्याण्ड, अस्ट्रिया, बेल्जियम ,ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूको अभिनय रहने छ। चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिए  ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को  निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई  ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायांकन गरिएको थियो । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री“, सुवास भन्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ ।

पद्यमा ईश्वर इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको  चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताउनुभयो ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्संदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दीपक शर्माको संगीत ,सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियाग्राफी रहनेछ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल “दिवाना" र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update