Kath khabar
प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का


                   काठमाडौं, फागुन २७ । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् ।

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तिम संस्कार’ बाट तारिफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन । साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्पसायर एकाउन्टेनको सहकार्य रहने छ । पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो ।

चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन् । साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए ।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो । नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि विदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए ।
 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update