Kath khabar
२१ मिनेट घटाइयो 'रङ्गेली', सोमबार देखि कम लम्बाइको प्रदर्शन हुने


                      काठमाडौं, फागुन २७ । शुक्रवार रिलिज भई सफलताका साथ देशभर चलिरहेको नेपाली चलचित्र 'रङ्गेली'को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको यो चलचित्र सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताए । "दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद चलचित्र केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् ।

यसलाई केही घटाउँदा र 'फास्ट कटिङ' गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ २ घण्टा ३० मिनेटमा झारिएको छ", निर्देशक सुवेदीले भने, "हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा चलचित्रको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको चलचित्र हलमा आएको छ ।"

पहिलो पटक चलचित्र निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने चलचित्र हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए । उनले भने, "मैले पहिलो पटक चलचित्र बनाएको हुँ । दर्शकको चाहना के हुने रहेछ भनेर पनि बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त चलचित्र बनाउन भन्दा हलमा चलाउन निकै मुस्किल रहेछ भन्ने महसुस गरेको छु ।"

रिलिजको पहिलो र दोस्रो दिन चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो ।  तेस्रो दिन सोमबार पनि चलचित्रको व्यापार सन्तोषजनक नै रहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

'रङ्गेली' मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update