Kath khabar
‘द रेड सुटकेस’ को फस्ट लुक्स सार्वजनिक


                    काठमाडौं, फागुन ३० । आगामी नयाँ वर्ष २०८१ को अवसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।  

आगामी ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मंगलबार सार्वजनिक गरिएको छ । यो फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्वय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।

द रेड सुटकेसको फस्ट लुक्समा अभिनेत्री सृष्टि श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाइएको छ । फस्ट लुक्समा कलाकारको चरित्रलाई यथार्थरूपमा देखाउन खोजिएको छ ।  यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।

द रेड सुटकेसगत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विट्जरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।

चलचित्रको बारे निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरूको वर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’   श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।

अघिल्लो चलचित्र ऐना झ्यालको पुतली निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेसलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update