Kath khabar
हरिवंश आचार्यको गुहार- ‘काम देउ न सरकार’


                   काठमाडौं, चैत २ । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामूलक गीत गाउँदै आइरहनुभएका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याउनु भएको छ । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याउनु भएको  हो ।

आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोज्नुभएको छ ।

‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशको यही नियति र मर्म उठाउन खोजेको छु ।’

श्यामश्वेत रसाइलीले एरेन्ज गर्नुभएको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियाग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गर्नुभएको हो । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याउनु भएको थियो । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ । 



 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update