Kath khabar
भारतमा नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

 

                     नयाँदिल्ली, चैत ९ । नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले गिरफ्तार गरेको स्रोतहरूले बताएका छन् ।

आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालत गएको र तत्काल सुनुवाईको माग गरेको बताउनुभयो । “इडीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी खारेज गर्नका लागि हामी सर्वोच्च अदालत गएका छौँ, हामीले बिहीबार राति नै सर्वोच्च अदालतसँग तत्काल सुनुवाईको माग गरेका छौँ”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ ।

यसअघि उहाँले केजरीवालले कारागारबाटै सरकार सञ्चालन गर्ने बताउनुभएको थियो । “इडीले अरविन्द केजरीवाललाई गिरफ्तार गरेको हामीले खबर पाएका छौँ, हामीलाई आशा छ उहाँले कारागारबाट सरकार चलाउनुहुनेछ, उहाँ दिल्लीको मुख्यमन्त्री रहिरहनुहुनेछ, हामीले सर्वोच्च अदालतमा मामिला दायर गरेका छौँ, हाम्रा वकिल त्यहाँ पुग्दैछन्, हामीले अदालतसँग बिहीबार राति नै तत्काल सुनुवाईको माग गर्नेछौँ”, उहाँले भन्नुभएको थियो ।

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उहाँको निवासमा खोजी अभियान गरेको थियो । दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उहाँको निवास पुगेको हो । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update