Kath khabar
आयरल्यान्ड वल्भ्सलाई दियो नेपालले १९९ रनको विशाल लक्ष्य


                      काठमाडौं, चैत १३  । घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आजको दोस्रो खेलमा आयरल्यान्ड वल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे । त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । आयरल्यान्ड ‘ए’ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । उसले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । नेपालका कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड 'ए'लाई छ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update