Kath khabar
दोस्रो सातामा ‘महाजात्रा’, क्युएफएक्सले भन्यो ‘सुपरहिट’


                    काठमाडौं, चैत १६ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले दोस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षत्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाईएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ । हामीले मनोरञ्जनसँगै दिनु खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ’, निर्देशक भट्टराईले भने ।

अभिनेता रवीन्द्रसिंह बानियाँले हल भ्रमणका क्रममा दर्शक बनेर परिवार नै आएको बताए । ‘हलमा परिवार नै दर्शक बनेको पाएँ । पैतिस वटासम्म टिकेर काटेर परिवार नै हेर्न आएका छन् । उहाँहरू फर्किदै गर्दा पनि समय र पैसाको सदुपयोग भएको भन्दै खुसी हुनुहुन्थ्यो, त्यो सन्तुष्टी नै हाम्रो सफलता हो’, अभिनेता बानियाँले भने ।

फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमित प्रदर्शनमा छ ।

यस्तै, चैत १५ (मार्च २८) देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरुआत गरेको छ ।  तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

यसका साथै नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो । क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ति गिरीले केही समय अगाडिको निर्णय अनुसार फिल्मलाई वर्गीकरण गरिएको बताइन ।

‘हाम्रो नेपालभरका हलमा प्रदर्शन भएर पहिलो तीन दिन र एक सातामा गरेको व्यापारका आधारमा सुपरहिट, ब्लकबस्टर घोषणा गर्ने थालनी गरेका हौँ । महाजात्रामार्फत सुरुआत भएको छ । यो नेपाली मात्र नभई क्युएफएक्समा प्रदर्शन हुने सम्पूर्ण फिल्ममा लागू हुनेछ’, उनले भनिन्,‘हाम्रो हलमा प्रदर्शन भइरहेका फिल्ममा दर्शकको आकर्षणलाई यसले सहज रुपमा बुझ्न मदत गर्छ । गतसाता प्रदर्शन भएकोमा महाजात्रा मात्र हाम्रो व्यापारको आधारमा सुपरहिट भएको हो ।’
उनले दर्शकले दिनुभएको ‘वर्ड अफ माउथ’ का कारण यो फिल्म देशभरका आउटलेटमा प्राप्त शोमा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको बताइन ।

मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा ६० शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ७ शो, लबिम मलमा ६ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ५ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ५ शो, बुटवलमा ५ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा ५ शो, विराटनगरमा ५ शो, विर्तामोडमा ६ शो, विरगंजमा २, इटहरीमा ५ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ५ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ६ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ६ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ४ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ६ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा ३ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा ५ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ५ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ५ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ६ शो, बानेश्वरमा रहेको आइएनआईमा ५ शो र बुटवलमा रहेको आइएनआइमा ६ शो दिएको छ ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाइएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update