Kath khabar
बलिउड अभिनेता गोविन्दा फेरि राजनीतिमा


                      नयाँ दिल्ली, चैत १६ । बलिउड अभिनेता गोविन्दा फेरि एकपटक राजनीतिमा प्रवेश भएका छन् । गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको पार्टी शिवसेनामा प्रवेश गरेका छन् ।

मुम्बईमा बिहीबार आयोजित एक कार्यक्रमबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा गोविन्दाले शिव सेनाको सदस्यता लिएका हुन् ।

यसअघि सन् २००४ मा गोविन्दा चलचित्र जगत छोडेर राजनीतिमा प्रवेश गरेका थिए । उनी भारतीय राष्ट्रिय कांग्रेस पार्टीबाट लोकसभामा निर्वाचित भएका थिए । सन् २००४ देखि २००९ सम्म सांसद रहेका गोविन्दाले राजनीतिमा सोचे जस्तो स्थान पाउन सकेनन् । उनी राजनीतिक करियरबाट अलग भए । राजनीतिमा प्रवेश गर्दा गोविन्दा ४३ वर्षका थिए ।

अभिनेताबाट सांसद बनेका गोविन्दाले त्यसपछि आफू पनि अमिताभ बच्चनजस्तै राजनीति छोड्न चाहेको बताएका थिए । इलाहाबादबाट सांसद बनेका अमिताभ बच्चनले पनि राजनीतिलाई छिट्टै बिदाई गरेका थिए ।

अहिले गोविन्दा फेरि राजनीतिको हिस्सा बनेका छन् । उनले लोकसभा चुनावको टिकट पाउन सक्ने बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update