Kath khabar
गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी


                      कायरो, चैत १८ ।  इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ । उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमबार वार्ता हुन लागेको बताएको छ ।

इजिप्ट, कतार र इजरायलको मुख्य सहयोगी संयुक्तराज्य अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा खासै प्रगति हुन सकेको थिएन ।

यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिएका थिए तर दुबै पक्षबीचको गतिरोधको अन्त्य हुन सकेन । अहिले मुस्लिम समुदायको पवित्र रमादानको आधा महिना बितिसकेको छ । गत शुक्रबार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी स्वीकृति प्रदान गर्नु भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताइसक्नु भएको जनाएको छ । तर बार्नी स्वयं यी वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन ।

गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ । प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए ।

हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ । इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन् । युद्धविरामको एक प्रमुख शर्त भनेको गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ ।

यसैबीच, फ्रान्सका विदेशमन्त्री स्टेफानी सेजोर्न पनि इजरायल–हमासबीच युद्धविराम गराउन कायरो भ्रमणमा रहेका छन् । उनले जोर्डनका कुटनीतिज्ञसँग पनि यसबारेमा परामर्श गर्नेछन् । गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषदले पनि गाजामा तत्काल युद्धविराम गर्ने सम्बन्धी एक प्रस्ताव पारित गरिसकेको छ ।

गाजा युद्धका कारण इजरायलले गरेको सैनिक कारबाहीमा कम्तीमा ३२ हजार ७०५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । (रासस/एएफपी)

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update