Kath khabar
बाइडेन, नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता

गाजा पट्टि, चैत २२ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ । 

अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गर्नु भएको थियो । गाजामा भोकमरीको स्थिति उत्पन्न भएको जनाउँदै इजरायली समन्वयमै वल्र्ड किचेनले समुद्री मार्गबाट भित्र्याएको सहायता सामग्री गाजामा वितरण गर्न थालेको थियो । 

एक जना अमेरिकी अधिकारीले बाइडेन र नेतान्याहुबीच बिहीबार टेलिफोन वार्ता हुन लागेको पुष्टि गरेका छन् । 

इजरायली हवाई हमलाबाट गाजामा मानवीय सहायताकर्मी चढेको सवारी साधनमा क्षति पुगेको थियो । यस आक्रमणबाट एक जना अमेरिकी–क्यानाडेली नागरिक, तीन जना बेलायती, पोल्यान्ड, अस्ट्रेलिया र प्यालेस्टाइनका एक एक जनाको ज्यान गएको थियो । 

हमास विरुद्धको युद्धमा इजरायलले गरिरहेको पछिल्लो बमबारीबाट ३२ हजारभन्दा बढी सर्वसाधारण प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिनेहरुमा अधिकांश बालबालिका र महिला रहेका छन् ।

इजरायललाई समर्थन गरिरहेका अमेरिका समेतका पश्चिमा राष्ट्रहरु इजरायलले पछिल्लो पटक मानवीय सहायताकर्मीलाई लक्षित गरि आक्रमण गरेपछि चिन्तित बनेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन समेतले इजरायली नेतृत्वमाथि तिब्र रोश प्रकट गरेका छन् ।

इजरायलले सहायताकर्मीमाथि भएको आक्रमणको जिम्मा लिएको छ । तर इजरायलले उक्त घटना जानाजान नभएको दाबी गरेको छ । प्रधानमन्त्री नेतान्याहु, इजरायली सेना प्रमुख समेतले उक्त घटनाको छानबिन भइरहेको बताउनु भएको छ । 

राष्ट्रसंघका अनुसार, विगत छ महिनाको अवधिमा गाजामा सहायता वितरणमा सक्रिय कम्तीमा एकसय ९६ जना सहायताकर्मीको इजरायली आक्रमणमा ज्यान गइसकेको छ । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले सहायताकर्मीको मृत्युले गाजामा परिस्थिति निकै जटिल रहेको अनुभव भएको बताउनुभएको छ । 

गाजामा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणबाट कम्तीमा ६१ जना प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत अक्टोबर ७ का दिन हमासले इजरायली भूभागमा आक्रमण गरी एक हजार १७० जना इजरायलीको ज्यान लिएसँगै इजरायल–हमास युद्ध सुरु भएको थियो । प्यालेस्टिनी लडाकू समूह हमासले २५० जनालाई बन्धक बनाए पनि केही मुक्त भएका छन् ।

हमास विरुद्धको इजरायली प्रत्याक्रमणबाट हालसम्म ३२ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update