Kath khabar
काठमाडौंमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु


                      काठमाडौं, वैशाख २ । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दाे र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताउनुभयो । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री लामिछानेले भन्नुभयो, “हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।” सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उहाँले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी (रिपोर्टिङ) गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।

सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताउनुभयो । उहाँले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताउनुभयो ।

विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताउँदै उहाँले भन्नुभयो, “राजनीति गर्ने हामीहरूले हो, जसलाई जे गर्ने जिम्मेवारी छ त्यही गर्नुस्, राजनीति गर्ने हामीहरू छँदै छौँ ।”

गृहमन्त्री लािमछोले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताउनुभयो । उहाँले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिनुभयो ।

उहाँले जुन प्रहरीको क्षेत्रमा लापरवाहीका कारण दुर्घटना हुन्छ, त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाउँदै भन्नुभयो, “नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।”

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिनुभयो ।

उपप्रमुख डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले नागरिकलाई सचेत गराउन जरुरी रहेको बताउनुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताउनुभयो । उहाँले यातायातमा समेत सिसी क्यामेरा जडान गर्न सके दुव्र्यवहार रोक्न सहज हुने उल्लेख गर्दै साझा यातायातसँग सो विषयमा छलफल भइसकेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले  दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनचेतना वृद्धिमा जोड दिँदै सार्वजनिक यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उक्त प्रतिवेदन कार्यान्वयन भएमात्रै पनि ८० प्रतिशत सार्वजनिक यातायात सुधार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सडक सुरक्षाका जानकार भगवती सेढाईँले सहीरूपमा समुदायमा सचेतना बढाउँदा २० प्रतिशत दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँले ट्राफिक भोलेन्टियर तयार पार्न सुझाव दिँदै नागरिक पनि संवेदनशील हुनुपर्ने बताउनुभयो । सडकका नियम पालना प्रहरीका लागि हो भन्ने सोच परिवर्तन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक नियम पालना, सचेतना, आम नागरिक तथा सङ्घसंस्थालाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताउनुभयो ।

मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार, पार्किङ व्यवस्थापन र करिडोर खुला गर्नसके काठमाडौंको ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताउनुभयो । समारोहअघि काठमाडौंमा ट्राफिक सचेतनासम्बन्धी र्‍याली निकालिएको थियो ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update