Kath khabar
इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता प्रकट


                    पेरिस, वैशाख २ । इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।
 
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, “इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता छ,” ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताउनुभएको छ । इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको छ ।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गर्नुभएको छ ।  

चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ । “अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,” विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायल र इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं । हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको मार्गमा फर्कन इजरायल र इरानलाई आह्वान गर्दछौं । यसबाहेक, विदेश मन्त्रालयले इरान–इजरायल द्वन्द्वको स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ ।

फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भन्नुभयो, “यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको छ र सैन्य वृद्धिको जोखिम उठाइरहेको छ ।”

बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन् । विदेशमन्त्री एनालेना बेर्बोकले भन्नुभएको छ, “हामी जारी आक्रमणको भत्र्सना गर्दछौं, यसले पूरै क्षेत्रलाई अराजकतामा धकेल्न सक्छ । “इरान र उसका सहयोगीहरूले यसलाई तत्काल रोक्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्लिन इजरायलको साथमा दृढतापूर्वक उभिएको छ ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफु र आफ्नो देश इजरायलको साथमा रहेको बताउनुभएको छ ।

“अक्टोबर ७ मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ र स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,” उहाँले भन्नुभयो ।

कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिम’बारे पनि चेतावनी दिइएको छ र इजिप्टले ‘स्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने छ ।”

साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ ।  साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ ।

अर्जेन्टिनाको एक अदालतले सन् १९९० को दशकमा ब्यूनस आयर्सस्थित इजरायली दूतावास र यहुदी समुदायको केन्द्रमा भएको बम आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेको उल्लेख गरेको छ । अजेन्टिनी सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अर्जेन्टिनाले ‘इजरायलको सार्वभौमिकताको रक्षाका लागि विशेषगरी आतङ्कवादलाई...


इरानद्वारा गरिएको हमलालाई विफल पारिएको इजरायली दाबी  
 इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराउनुभएको छ । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ । प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भन्नुभयो, “इरानी आक्रमण विफल पारिएको छ ।”

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् । ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उहाँले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गर्नुभयो ।

रक्षामन्त्री योआभ ग्यालान्टले भन्नुभयो, “संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।” इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको छ भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाउनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको छ ।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जबाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update