Kath khabar
सलमान खानको घरबाहिर गोली चलाउने कार्यमा संलग्न रहेको आशंकामा दुई व्यक्ति पक्राउ

 

                     मुम्बई, वैशाख ३ । बलिउड सुपरस्टार सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा भएको गोलीकाण्डमा दुई युवकलाई पक्राउ गरिएको छ । पछिल्लो अपडेटका अनुसार, प्रहरीले ती दुवैलाई नवी मुम्बई क्षेत्रमा पक्राउ गरेको हो । अपराध शाखा टोलीले उनीहरूलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

आइतबार बिहान ४ बजेर ५५ मिनेटमा बलिउड सुपरस्टार सलमान खानको बान्द्रास्थित घरबाहिर गोली प्रहार भएको थियो । उनको घर ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुईजना बाइकमा आएका युवकहरुले ५ राउण्ड गोली हानेर भागेका थिए ।

पक्राउ परेका दुईजना आक्रमणकारीका स्थानीय समर्थक रहेको बताइएको छ । उनिहरुले नै गोली प्रहार गर्नेलाई सहयोग गरेका थिए । यी व्यक्तिहरूले सलमान खानको घर रेकी गर्न दुवै फरार शूटरहरूलाई सहयोग गरेको देखिन्छ । यद्यपी, अपराध शाखाले हाल उनीहरुसँग सोधपुछ गरिरहेको छ ।

योजनाअनुसार गोली हान्नेहरू आइतबार बिहान हेल्मेट लगाएर सलमानको घरबाहिर बाइकमा आएका थिए । त्यहाँ तीव्र गतिमा गुडिरहेको मोटरसाइकलबाट खानको घरमा पाँच गोली प्रहार गरिएको थियो । यी मध्ये एउटा गोली बालकुनीको जालीमा छिरेर भित्र गएको थियो, अर्को गोली झ्यालको मुनि ठोकिएको थियो । बाँकी दुई गोलीको निशान पर्खालमा परेको थियो भने एउटा गोली सडकमै निस्किएको थियो ।

घटनापछि दुवै आक्रमणकारीले ट्रेन समातेका थिए । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ, जसमा दुवैको अनुहार स्पष्ट देखिन्छ । यसबाहेक, अपराधमा प्रयोग गरिएको मोटरसाइकल पनि बान्द्राको सेन्ट मेरी चर्च नजिकै बेवारिसे अवस्थामा फेला परेको छ।

भारतीय मिडियाहरुका अनुसार ग्याङ्स्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले सलमान खानमाथि भएको आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । अनमोल बिश्नोई अमेरिकामा बस्छन् । उनको नामको फेसबुक खातामा गरिएको पोस्टले घटनाको जिम्मेवारी लिएको छ । यस फेसबुक पोस्टको पनि क्राइम ब्रान्चले अनुसन्धान गरिरहेको छ ।

गत वर्षको मार्चमा पनि सलमानलाई ईमेलमार्फत र आफ्ना पिता सलीम खानको नाममा यस्तै धम्कीसहितको चिठ्ठी आएको बताइएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update