Kath khabar
काठमाडौं महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै


                                काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ।

आजदेखि वैशाख महिनाभर महानगरपालिकाले महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन रुग्णता (अस्वस्थता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

‘हामी चाहन्छौँ, कसैले पनि उपाय नलाग्ने अवस्थाको क्यान्सरसँग जुध्न नपरोस् । समस्या जोखिमपूर्ण चरणमा पुगेपछि हाम्रो उपाय कमजोर हुन्छ । यसकारण हामीले प्रजनन उमेरका महिलाहरुमा क्यान्सर जाँचको शिविर राखेका हौँ । अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सक्छौँ । यसकारण प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन अनुरोध गर्न चाहन्छु', महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभएको छ ।

प्रजनन उमेर (३०–६०)बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालको सुझाव छ ।३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ । उहाँका अनुसार १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु जोखिम धेरै हुन्छ", उहाँले भन्नुभयो ।

आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र बिहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने तालिका छ ।

शिविरबाट थप जाँचको आवश्यकता भएका महिलाहरूका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क जाँच हुने महानगरले जनाएको छ ।

 

437528243_746346097672945_7201254600584837878_n-1713335484.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update