Kath khabar
'पुजार सार्की' को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य (भिडियो)


                  काठमाडौं, वैशाख ७ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ सार्वजनिक गरिएको छ ।

शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय ’कौडा नृत्य’मा आधारित छ । यस गीतमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् ।

कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ । यसका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा प्रकाश सपुत र र शान्ति श्री परियारको स्वर रहेको छ ।

यसअघि सार्वजनिक पोस्टर र टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन् । यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ’पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ ।

निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । ’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’ मा सहकार्य गरेका थिए । चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update