Kath khabar
‘बलिदान’ मा दिव्य देव अनुबन्धित


                       काठमाडौं, वैशाख १० । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् ।  शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो ।

चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए । “अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’को एक प्रमुख पात्रको लागि उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ” निर्देशक सेनले भने, “यस चलचित्रमा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । चलचित्रमा नयाँ भित्रिनुभएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।”

नाट्य कर्म र चलचित्र अभिनयलाई सँग सँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको चलचित्र ‘चिसो एस्ट्रे’ बाट धेरै चलचित्र कर्मीको नजरमा परेका थिए । उनले ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने उनको प्रतीक्षित चलचित्र ‘रुदाने’ भने रिलिज भएको छैन । उनले हालै मात्र ‘मेयर’ चलचित्रमा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत निकै चर्चित छन् । उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरेका छन् ।

अभिनेता दिव्यले ‘बलिदान’ को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए । उनले भने, “टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैले पर्खिरहेको थिएँ । केही दिन अघि उहाँले बोलाउनुभयो र एउटा महत्त्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । सम्भाव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।”

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेता द्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस चलचित्रलाई लिएर ठुलो अपेक्षा गरिएको छ ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ’बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री–प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो । यसै वर्ष रिलिज हुने ’बलिदान’ को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ । यस चलचित्रका निर्देशक सेनले चलचित्रको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update