Kath khabar

डोडोमा, तान्जानिया, वैशाख १३। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । 

बर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराउनुभएको हो । 

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी गराउनुभयो । 

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको उहाँले बताउनुभयो । 

मजालिवाका अनुसार बाढीबाट अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिने जस्ता थप विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले कदम चालेको छ ।   “तान्जानिया राष्ट्रिय सडक सञ्जाल, तान्जानिया ग्रामीण र शहरी सडक निकाय, र तान्जानिया रेलवे कर्पोरेसनलाई क्षतिग्रस्त सडकहरू र रेलवेहरूको तत्काल जीर्णोद्धारको लागि तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ,” उहाँले भन्नुभयो । 

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update