Kath khabar
दाङको मेट्रो कलेजका विद्यार्थीले बनाए छुर्पीदेखि बिस्कुटलगायतका विभिन्न परिकार


                  तुलसीपुर, वैशाख १७ । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरूले छुप्री र बिस्कुटलगायत विभिन्न परिकार बनाएका छन् ।

विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका क्रममा छुप्री, गुदपाक, बिस्कुट, किम्बुको जाम, रसवरी, अचार, कोदोको मःम लगायतका परिकार बनाएका खाद्य प्राविधिक जुनु भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयकी छात्रा सीमा नेपाली किताबमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नका लागि विभिन्न परिकार बनाएका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बिहान पढ्ने र दिनभर परिकार बनाउने काम गर्छौ । यसकार्यले किताबी ज्ञानलाई व्यवहारमा उतार्न सघाउ पुगेको छ ।” परिकार उत्पादनका साथै उत्पादीत परिकारलाई बजारीकरण गर्ने सीपसमेत सिकाइ हुने भएकाले पढाइपछि आत्मनिर्भर बन्न पनि सहयोग हुने नेपालीको बुझाइ छ ।

कलेजका खाद्य प्राविधिक भट्टराईले विद्यार्थीले प्रयोगात्मक अभ्यासका क्रममा उत्पादित परिकारको गुणस्तर मापन र बजारीकरणका लागि प्रदर्शनसमेत गरिरहेका बताउनुभयो । आइतबार पनि ति परिकारहरू प्रदर्शन गरिएका थिए ।

परिकार अवलोकनपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बजारको आवश्यकताअनुसार रैथाने परिकार उत्पादन गर्न जरूरी रहेका बताउनुभएको थियो । उहाँले विद्यार्थीको मेहनतका लागि धन्यवाद् दिँदै यस्ता यस्ता कार्यमा नगरपालिकाको सधैँ साथ रहेनसमेत बताउनुभयो ।

त्यस्तै, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले पछिल्लो समय अधिकांश उपभोक्ताले अर्गानिक खाना तथा परिकार खोजिरहेकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकतामा जोडदिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरी गुणस्तरहीन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताउनुहुन्छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखा प्रमुख रेखा शर्माको पनि त्यस्तै भनाइ छ,“उत्पादित वस्तुको खाद्य स्वच्छता मापन गरेरमात्रै बजार पठाउनुपर्छ । यसकार्यमा नगरको सहयोग रहन्छ ।”

कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update