Kath khabar
डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति
File Photo


                   गाईघाट (उदयपुर), वैशाख १८ । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ ।

डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो ।

खडेरीका कारण जङ्गल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो ।

यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–५ क्षेत्रका जङ्गलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ । डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सर्लाहीमा आगलागीबाट दुई घर र फार्म जले
सर्लाही जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।

आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका  रोहन भुजेलको घर र दुईवटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो ।

यसैगरी, गए राति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो । (रासस)

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update