Kath khabar
नेपाल वायुसेवा निगमद्धारा हवाई सुरक्ष सम्वन्धी तालिम प्रदान

काठमाडौं, वैशाख  २३  | नेपाल वायुसेवा निगमले हवाई सुरक्ष सम्वन्धी तालिम प्रदान गरेको छ । निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि अनिवार्य आवश्यक पर्नै हवाई सुरक्षा सम्बन्धी दुई दिने तालिम मिति २०८१ वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा आईकायो प्रमाणित प्रशिक्षक भरत राज ढकाल रहेका थिए । उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइदै आइरहेको छ ।


निगमले सञ्चालन गरेको उक्त दुई दिने कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा निगमको कर्पोरेट ब्रिफिङ समेत भएको र सो अवसरमा बोल्दै मन्त्रीले निगमले राखेका चुनौती र समस्याहरुलाई आफुले गम्भिरतापूर्वक लिएको र अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहनेमा जोड दिए । उक्त अवसरमा मन्त्री तामाङले नेपाल वायुसेवा निगम व्यवसायिक रुपमा काम गर्नुपर्ने राष्ट्रिय ध्वजावाहक भएकोले यसलाई राजनीतिबाट टाढा राखि सवै कर्मचारीहरु एकतावद्ध भई काम गर्न आह्वान गरे । निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरुलाई दिन भएका चलखेल बारे आफूलाई थाहा भएको र कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिवद्धता जनाउंदै निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्न ध्यनाकर्षण गराए । 


उक्त अवसरमा निगमले गरेका कार्यहरु र भावि योजना बारे प्रकाश पार्दे निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रस्तुत कार्यहरु सफल पार्न तालुक मन्त्रालय तथा नेपाल सरकारको साथ सहयोग र अभिभावकत्व आवश्यकता पर्ने भएकोले निगमले सोही अनुरुपको सहयोगको अपेक्षा गरेको र त्यस किसिमको समन्वय तथा सहयोग सधैं प्राप्त हुने विश्वास व्यक्त गरे । तालिममा सहभागिहरुलाई मन्त्रीको हातबाट प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update