Kath khabar
अपराध रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

प्युठान, वैशाख  २३  | जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय र गौमुखी गाउँपालिका–७ नारीकोटको आयोजनामा लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र अपराध रोकथाम तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । 


जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्य र गौमुखी गाउँपालिका–७ नारीकोटका वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा सोही गाउँपालिकास्थित अमृत जीवन माध्यामिक विद्यालयमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रविधिको गलत प्रयोगका कारण हिंसा बढेको पाइएको उल्लेख गर्दै समाजमा हुने गरेका हिंसा लुकाउँदा र जोगाउँदा अपराधीलाई अपराध गर्नमा प्रोत्साहन हुने भएकोले कानूनको दायरामा ल्याउन सबैले आ–आफ्नो पक्षबाट सहयोग गर्नुपर्ने बताउनुभयो । महिलाविरुद्ध हुने जुनसुकै हिंसालाई कानूनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 


जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले कार्यक्रमको औचित्यमाथि जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोष भालुवाङका संयोजक बसन्त पुनले लागूऔषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
जिल्लास्थित विभिन्न सरकारी तथा संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला निकाय, विभिन्न आमा समूह, स्थानीय भद्रभलाद्मींहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्युठानका सहायक जिल्ला न्यायाधिवक्ता विष्णु हरि मरासिनीले कानूनी प्रावधानको बारेमा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update