Kath khabar
१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल-२०२४ असारमा


                  काठमाडौं, जेठ ९ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ ।

यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र समावेश भएका छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराइने भएको छ । महोत्सवमा प्राप्त अफ्रिकन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।’ महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले भनिन् ।

यस्तै महोत्सवका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिने भएको छ । महोत्सवका लागि नेपालका चलचित्र, लघु चलचित्र, वृत्तचित्र, आदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।  

विगत १२ वर्षदेखि यो महोत्सव आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन । विगत झै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सवमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने भएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update