Kath khabar
स्कुले विद्यार्थीलाई संस्कार प्रशिक्षण


                 काठमाडौं, जेठ ११ । ‘मिसन स्माइल नेपाल’ले बाल संस्कार अध्ययन केन्द्रअन्तर्गत कक्षा ३ देखि १० सम्मका  विद्यार्थीका लागि संस्कारसम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ ।

एक महिनादेखि हरेक साँझ बौद्धनाथ क्षेत्र विकास समितिको सहकार्यमा विभिन्न छ स्थानमा हुँदै आएको निःशुल्क प्रशिक्षण अझै दुई महिनासम्म चल्ने संस्थाकी अध्यक्ष जस्मिन ओझाले बताउनुभयो । चाबहिल, बौद्ध, बज्रनगर, सिमलटारलगायत स्थानका सार्वजनिक भवनमा प्रशिक्षण हुँदै आएको छ ।

संस्थाले कानुनी साक्षरतासम्बन्धी सचेतना जगाउने, विभिन्न समसामयिक विषयमा भेला, सम्मेलन, सचेतनाका साथै निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ । हरेक दिन दुई घण्टा हुने प्रशिक्षण कक्षामा नैतिक र बौद्ध शिक्षा, ध्यान योग, नृत्य,  सङ्गीत, गणित, नेपाली भाषा, कला साहित्य, व्याकरण, विज्ञान विषय समावेश छन् ।

विद्यार्थीलाई समाजसँग जोड्दै संस्कारी, कतृव्यनिष्ठ र सामाजिक रूपमा सक्रिय बनाई क्षमता अभिवृद्धि गराउन प्रशिक्षण  सञ्चालन गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
–––

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update