Kath Khabar
कारबाहीमा परेका एक हजार तीन सय दुई जनाले गरे सवारी व्यवस्थापनमा सहयोग


                    काठमाडौं, जेठ १७ । अन्य दिनको तुलनामा बुधबार दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ–आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरु कुनै नयाँ सङ्घ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका थिए ।

उनीहरुले बुधबार बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई आजदेखि स्वयम्सेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले बुधबार पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरु खटिएपछि काठमाडौँका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई बुधबार काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरु खटिनुभएको थियो ।”

स्वयम्सेवकका रुपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रुपमा सडकमा खटिनुपर्ने जनाइएको छ ।
---

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update