Kath khabar
विद्यार्थीले आफैँले फलाएको धानको चामल गरे दान

 

                 भक्तपुर, जेठ  २४ । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल बुधबार एक कार्यक्रमबीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । विद्यार्थी आफैँले भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर चार बोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् ।

यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा बिउ हालेका थिए । त्यसपछि उनीहरुले असार १५ मा धान रोपेका थिए । रोपेका धानलाई उनीहरुले नै गोडमेल गरेका थिए । त्यसपछि मङ्सिरमा विद्यार्थीकै सक्रियतामा धान काटिएको थियो । काटिएको धानबाट चिउरा कुटेर उनीहरुले असार १५ मा दही चिउरा खाएका थिए । दही चिउरा खाएर बाँकी रहेको धानलाई मिलबाट कुटेर ल्याई बाँधी भएको चार बोरा चामल उनीहरूले मुनि विहारलाई दान दिएका थिए ।

भक्तपुरको एभरेस्ट स्कुलमा हाल कक्षा ५ मा पढ्दै गरेका विद्यार्थीले दान दिएका हुन् । हाल ५ कक्षा पढिरहेका उनीहरुले धान काट्नेसम्मको काम चार कक्षामा हुँदा गरेका थिए । उनीहरूले चामल दान बाहेकको सबै काम कक्षा ४ मै गरेका थिए । चामल दान मात्रै कक्षा ५ पुग्दा पुगेको हो ।
 
विद्यार्थीसँंगै दान गर्न मुनि विहार भक्तपुर पुगेकी स्कुलकी शिशिका मञ्जु खड्काले कक्षा ४ मा हुँंदा रोपको धान फलाएर आएको चामल हस्तान्तरण गर्न हाल कक्षा ५ का विद्यार्थी आएको सुनाइन् । हस्तान्तरण कार्यक्रममा सांकेतिक प्रतिनिधित्वका रुपमा क्लास क्याप्टेन र हाउस क्याप्टेनहरुलाई मात्रै ल्याइएको उनले सुनाइन् । कार्यक्रममा चार जना छात्रा र चार जना छात्र गरी कुल १० जना विद्यार्थी, दुई शिक्षिका र दुईजना स्कुलका कर्मचारीहरु सहयोगका लागि मुनि विहार पुगेका थिए । बालबालिका र चामल स्कुल बसबाट त्यहाँ ल्याइएको थियो ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीले स्कुल नजिकैको खेतमा धानको बिउ राख्नेदेखि काटेर थन्काउनेसम्मको काम गराउने गरेको जानकारी गराए । उनीहरूबाटै उत्पादित धानको चामल दानको महत्व बुझाउन उनीहरुमार्फत् नै भिक्षुहरूलाई दान गर्ने गराएको उनले सुनाए । यो सबै कामलाई स्कुलले सहयोग गर्ने उनले बताए ।

चामल दान बुझ्दै मुनि विहार भक्तपुरका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीले सच्चरित्र पाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्ने लगायतका बुद्ध वचनलाई पाठ गर्न दिइएको थियो ।  

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update