Kath khabar
‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई

 

                    काठमाडौं, असार ९ । प्रतिस्पर्धात्मक गायन गायन रियालिटी सो ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनले विजेता बनेका हुन्  ।

विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे ।

कर्णप्रिय स्वरका धनी करणले अडिसन राउन्डमा जजहरुको मन जितेर गोल्डेन माइक हात पारेका थिए । त्यसपछि उनी एकैपटक उत्कृष्ट १२ का लागि छनौट भए ।  सफा र निश्छल स्वभावका करणले आफ्नो मधुर गलाले सो को सुरु देखि नै हरेक नेपालीको मन जितेका थिए ।

स्कुलमा हुँदा थुप्रै कार्यक्रममा भाग लिएर आफ्नो गायनकला प्रस्तुत गरेका करणले स्कुलका गुरुले ‘कर्णप्रिय स्वरका धनी भाइ करण परियार’ भनेर मञ्चमा बोलाएको सम्झिदै भन्छन्, सरले स्कुलमा र बुवाले घरमा तिम्रो स्वर राम्रो छ गाउन सक्छौ भनेर नभनेको भए गाउँ छोडेर संगीत सिक्न आउने सपना देख्ने थिएन होला।’

बर्दियाको जयनगर घर भएका करणका बुवाआमाले कपडा सिलाएर जीवन धानेका छन् । काठमाडौं आएपछि उनले भोगेको दुखमा साथ दिएका साथी जसले उनलाई साथ दिए उनलाई उनी हरपल सम्झन्छन् । भन्छन्, लाग्छ अब म एक्लो छैन । करणको सपना थियो, गिटार किन्ने । सपना भएर पनि पैसा नहुँदा किन्न नसकेको र पछि सापटी लिएर किनेपछिको त्यो खुसीलाई उनी संसारको सबैभन्दा ठूलो खुसी यही होला भन्छन् ।

१२ कक्षा पास गरेपछि उनले संगीत सिक्ने प्लान बनाएको उनी भन्छन् । एक वर्ष अगाडि देखि मात्रै उनी जोरपाटीमा कृष्ण केसीसँग संगीत सिकिरहेका छन् । उनले गायक तथा संगीतकार न्यूह बज्राचार्यको संगीतमा गीत रेकर्ड पनि गरिसकेका छन्।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update