Kath Khabar
रविको बारेमा बोले नारायणकाजी

                     काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले गरेको दुर्व्यवहार तत्काल रोक्न जोडदार माग गरेका छन् ।

उनले भनेका छन्, "रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।"

उनले सामाजिक सञ्जालमा लेखेका छन् –

नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तिब्र पार्नु र त्यसको प्रतिफल आम जनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग  गर्न पाउने अवसर प्रदान गर्नु हो । त्यसको लागि सबै प्रकारको अनियमितता एवं भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघिबढाएर सुशाशन कायम गर्नु आवश्यक छ ।विकासलाई फड्कोको बिन्दुमा पुर्याउन सुशासन एक मुख्य पूर्वशर्त हो । त्यसैले हाम्रो पार्टीको नेतृत्वको यस अघिको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको नारालाई केन्द्रमा राखेर यस दिशामा  प्रभावकारी रुपमा कार्य अघि बढाएको थियो ।

यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै  हैसियतकाे भएपनि भष्टाचारकाे अनुसन्धान हुन सक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री श्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं। तर सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको  घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार  माग गर्दै आएको सबैलाई विदितै छ ।

यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update