Kath khabar
माकुराले आफुभन्दा तीन सय पच्चीस गुणा ठुला सर्पको सिकार गर्न सक्दछ

काठमाडौँ, साउन १४ । संसारमा यस्ता माकुरा पनि छन् जसले आफुभन्दा तीन सय पच्चीस गुणा ठुला सर्पलाई डसेर मार्न सक्दछन् । नयाँ अध्ययनले केही माकुराले सर्पको सिकार गरी खाएको पुष्टि गरेको छ । यस अध्ययनमा तीन सय उन्नाइस ओटा घटनाको रेकर्ड गरिएको थियो जसमा दुई सय उन्नाइस घटना प्राकृतिक स्थानमा र बाइस घटना चिडियाघर र प्रयोगशालाका थिए ।

युनिभर्सिटी अफ बेसका संरक्षण जिवविज्ञ मार्टिन निफेलरले कैयौँ वर्षसम्म चरा र माकुराको सिकार गर्ने माकुराका बारेमा अवलोकन अध्ययन गर्दा सर्पको सिकार गर्ने माकुराको पनि अध्ययन गरेको बताउनुभएको छ । माकुराको तागत देखेर उहाँ अचम्मित भएको र यसको तागत अन्दाज लगाउन मुश्किल भएको उहाँको भनाई छ ।

यूनिभर्सिटी अफ जर्जीयाको जिबविज्ञ जे व्हाइटफिल्ड गिबन्सका अनुसार तीस प्रजातिका माकुराले सर्पको सिकार गर्दछन् । सिकारी माकुरामा वीडो स्पाइडर प्रजाति  सबैभन्दा खतरनाक हुन्छ जसले आधा सर्पलाई एक्लै खत्तम पार्दछ । विडो माकुरामा आवरग्लास माक्र्ड विडो माकुरा खतरनाक हुन्छ । यस बाहेक अफ्रिकामा पाइने अफ्रिकन बटन माकुरा पनि सर्पको सिकार गर्दछ । यो सिकारी माकुराको आकार मुश्किलले १.१ सेन्टिमीटरको हुन्छ, तर असाध्यै बिषालु हुन्छ जसले यसको आकारभन्दा सय गुणा ठुलो  सर्प डसेर मार्न सक्दछ ।

टैरेन्टुला प्रजातिको माकुराको दश प्रतिशत सर्पको सिकार गर्दछ । ठुलो आकारको यो माकुराले यस्तो मजबुत जाल बनाउछ कि यसमा फस्ने जिव निस्कन मुश्किल हुन्छ अर्काे लार्ज ओर्ब विभर माकुराले ८.५ प्रतिशत सर्पलाई मार्दछ । यसले जालमा परेका चरा र चमेरोको पनि सिकार गर्दछ । जालमा परेका सिकारको यसले रगत चुस्दछ र अन्य अङ्ग पनि खान्छ ।

सबैभन्दा सिकारी माकुरा पाइने स्थान अमेरिका हो त्यसपछि क्रमशः अस्ट्रेलिया, अफ्रिका र एसिया र युरोपमा पनि यसको बासस्थान छ । माकुराले छयासी प्रजातिका सर्पका सिकार गर्दछ । सबैभन्दा माकुराको सिकार हुने सर्प कोलुब्रिड प्रजातिको हो त्यसपछि रेट स्नेक पर्दछ ।

रेट स्नेक तथा कोलुब्रिड प्रजातिका सर्प किरा फट्याङ्ग्रा जस्तै माकुराको जालमा फस्दछन् । प्रायः साना सर्प यसको जालमा पर्दछन् । ३.२५ फिट सम्मका सर्पलाई टैरेन्टुला र ओर्ब विभरले सिकार बनाएको अध्ययनको क्रममा भेटिएको छ । ब्याल्क विडो माकुराले आफुभन्दा तीस गुणा ठुला सर्प मार्न सक्दछ । कम्बवेब प्रजातिको माकुराले आफुभन्दा तीन सय पच्चीस गुणा ठुला सर्पको सिकार गर्न सक्दछ ।

मार्टिन निफेलरका अनुसार माकुराले टोकेपछि सर्प केहि घण्टादेखि एकदिन भित्र मर्दछ । सर्प जति विषालु हुन्छ मर्ने समय पनि त्यही अनुसार बढी हुन्छ । रिपोर्टमा छयासी प्रतिशत सर्प माकुराको जालमा परेपछि मरेको चौध प्रतिशत विभिन्न कारणले भाग्न सफल भएको उल्लेख गरिएको छ । मारेका सर्पको कैयौं दिन लगाएर माकुराले भोजन गर्दछ ।

मार्टिन निफेलर आफु सर्पदेखि असाध्यै डराउने तर अध्ययनका क्रममा माकुराले सर्पको सिकार गरेको देखेर डर र अच्चम दुबै लागेको बताउनुभएको छ । चरा र चमेरो मार्ने सर्पको बारेमा अध्ययन गरी रिपोर्ट गर्ने क्रममा सर्प-सिकारी माकुराका  बारेमा पनि अध्ययन गर्ने मौका मिलेको उहाँले स्पष्ट पार्नुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update